Comments Add Comment

कुम्मायकका ६०५ जना किशोरीलाई एचपीभी खोप लगाइने

रमेश थापा

यासोक/पाँचथरको कुम्मायक गाउँपालिकामा ६०५ जना  किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। माघ २३ गतेदेखि संचालन हुने खोप कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरूलाई लगाइने भएको हो। त्यस्तै बिद्यालय नजाने १०-१४ वर्ष उमेरका किशोरीहरूलाई  एच.पि.भी. खोप लगाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरकी सहजकर्ता सलिना श्रेष्ठले जानकारी दिनुभयो।

कुम्मायक गाउँपालिकाका ५ वटा वडाका १३ वटा विद्यालयमा खोप संचालन हुने भएको छ। जसअनुसार ११ सामुदायिक र दुई संस्थागत गरी १३ वटा विद्यालयमा खोप संचालन हुने गाउँपालिकाको स्वास्थ्य  शाखा सह-संयोजक इन्द्र कुमारी राईले जानकारी दिनुभयो।

आइतबार गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको पालिका स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरू, पत्रकार र सरोकारवालाहरू बीच अभिमुखिकरण कार्यक्रम मार्फत माघ २३ गतेदेखि खोप संचालन हुने जानकारी गराइएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, वडाअध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।

पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरेको हो। पहिलो चरणमा चितवन र कास्कीमा २०७२ र ०७३ मा यो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ ।

यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै