पाँचथर, २० चैतः
नयाँ वर्ष वि.स. २०८२ को अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौं चौंरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौंरी संस्कृतिको सम्वद्र्धनमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको हो ।
फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चैरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवको स्थानीय ब्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरु समेत रहेका छन ।
महोत्सवमा छ सयवटा भन्दा बढी चौंरी प्रदर्शन गरिनुका साथै याक दौड प्रदर्शन हुनेछ । महोत्सवमा चौंरीजन्य सामग्रीहरु, स्थानीय घरेलु उत्पादनहरु, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरु प्रदर्शनका लागि राखिने फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिनुभयो ।
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौंरी संस्कृतिको गजेर्नामार्फत पर्यटन विकास गर्ने, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्नुपर्ने सन्देश दिने, जैविक विविधताको संरक्षणमा जोड दिने, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्रको पर्यटकीय लाभ नेपालले समेत लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष जबेगूले वताउनुभयो । यस्तै फालोट क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरी विश्वभरिका पर्यटकलाई आकर्षित गर्ने तथा पर्यापर्यटनको विकासमार्फत चौंरीपालकसहितका स्थानीयवासीको आम्दानीको स्रोत वृद्धि गर्ने महोत्सवले लक्ष्य लिएको छ ।
यो महोत्सवल समुद्री सहतबाट तीन हजार ५०० मिटर उचाइमा अवस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकैको चाररातेमा आयोजना गरिएको हो । चैत ३१ गते सुरु हुने महोत्सव वैशाक २ गते सम्पन्न हुने उपाध्यक्ष जबेगूले जानकारी दिनुभयो । वि.सं. २०७४ सालदेखि यहाँ निरन्तर महोत्सव सञ्चालन हुँदै आएको छ । यस वर्ष महोत्सवलाई नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काकरभिट्टा लगायत संस्थाले प्रवद्र्धकका रुपमा रहि सहयोग गर्ने भएका छन ।
महोत्सवमा नेपालसहित भारत र भुटानबाट समेत पर्यटक आउने आयोजकमध्येको फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्थाका उपाध्यक्ष शील्प साम्पाङले जानकारी दिनुभयो । महोत्सवमा उत्कृष्ट चौंरी पालक कृषक सम्मान, चौंरी पालकवीच मैत्रीपूर्ण फुटवल खेल, याक नृत्य जस्ता कार्यक्रम समेत रहेका छन ।
आयोजकका अनुसार चौंरी महोत्सव पाँचथरको फालेलुङवाहेक अन्य कुनै पनि स्थानमा भएको पाइदैन । चौंरी पालन क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रातो हाब्रे समेत पाइन्छ । नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने महोत्सवमा दुवै देशबाट चौंरीहरु प्रदर्शनका लागि ल्याइन्छन भने पर्यटक समेत दुवै देशबाट आउने गर्दछन ।
सीमावर्ती फालोट क्षेत्रमा वर्षेनि करीव तीन लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान गरिन्छ । नेपालतर्फ चौंरी महोत्सवको नियमित आयोजना तथा पर्यटन पूर्वाधारहरु निर्माणले पर्यटकबाट नेपाली पक्षले समेत लाभ लिन थालेको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरतकुमार खपाङ्गीको भनाइ छ । महोत्सव सम्पन्न गर्न फालेलुङ गाउँपालिकाले रु. पाँच लाख बजेट विनियोजन गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
नयाँ वर्षमा चौंरी महोत्सव हुँदै
4 hours
६
तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्यद्रोहको मुद्दा, कसैलाई नछोडिने
२०८१ चैत्र १६ गते , आइतबार
सम्बन्धित खवर
Advertisment





