0 प्रतिक्रिया
हिलिहाङमा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन नापजाँच सुरु
AI सारांश
Fast AI१. पाँचथरको हिलिहाङ गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन नापजाँच सुरु भएको छ।
२. हिलिहाङ गाउँपालिकामा भूमिहिन दलित ११ परिवार, भूमिहिन सुकुम्बासी ३७ परिवार र अब्यवस्थित बसोबासी ६८२ परिवारले आयोगमा निवेदन दिएका छन।
३. आयोगले पाँचथरमा सुरुआतमा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा र लालपूर्जा उपलब्ध गराउने नीति लिएको जनाएको छ।
पाँचथर, १४ असारः
पाँचथरको हिलिहाङ गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन नापजाँच सुरु भएको छ ।
हिलिहाङ गाउँपालिकाको वडा नं. ७ मा रहेका तीन परिवार भूमिहीन दलित र एक परिवार भूमिहीन सुकुम्बासीलाई यहाँको आहालेटारमा जग्गा उपलब्ध गराउन विहीवारदेखि नापजाँच सुरु भएको हो । भूमि समस्या समाधान आयोग पाँचथरका सदस्य सचिव एवम् नापी कार्यालय पाँचथरका प्रमुख उमेश नेम्बाङका अनुसार हिलिहाङ गाउँपालिकामा भूमिहिन दलित ११ परिवार, भूमिहिन सुकुम्बासी ३७ परिवार र अब्यवस्थित बसोबासी ६८२ परिवार गरी गरी ७३० परिवारले आयोगमा निवेदन दिएका छन ।
आयोगले पाँचथरमा सुरुआतमा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा र लालपूर्जा उपलब्ध गराउने नीति लिएको जनाएको छ । जसअनुसार प्रक्रिया धेरै अघि बढेको हिलिहाङमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि जग्गा नापचाँचको प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो । हिलिहाङका सात वटा वडामध्ये वडा नं. ७ ले मात्रै जग्गा पहिचान गरेकाले यहाँका चार परिवारका लागि ५ रोपनीका दरले जग्गा उपलब्ध गराउन लागिएको हो। “वडा नं. ७ मा नापी टोलीले नापजाँच गरिसकेको छ”, नेम्बाङले भन्नुभयो, “अन्य वडाले जग्गा पहिचान गर्न नसक्दा नापजाँचको प्रक्रिया सुरु हुन सकेको छैन् ।”
हिलिहाङ–७ का चार परिवारलाई आवास र कृषि गरी दुई प्रयोजनका लागि दुई÷दुई कित्ताका दरले पाँच÷पाँच रोपनी जग्गा उपलब्ध गराउने लागिएको भूमि समस्या समाधान आयोग पाँचथरका अध्यक्ष धनकुमार फियाकले जानकारी दिनुभयो । फियाकका अनुसार मिक्लाजुङ गाउँपालिकामा समेत भूमिहीन दलित पाँच परिवार, भूमिहिन सुकुम्बासी आठ परिवार र अब्यवस्थित बसोबासी १५३ परिवारलाई जग्गा उपलब्ध गराउन नापजाँचका लागि सूचना प्रकाशन भइसकेको छ ।
आयोगले सबै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन काम गरिरहे पनि हिलिहाङ र मिक्लाजुङ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा आयोगले काम गर्ने अवस्था बनिनसकेको अध्यक्ष फियाकले वताउनुभयो । जिल्लाभर भूमिहीन दलित १०४ परिवार, भूमिहीन सुकुम्बासी १३९ परिवार र अव्यवस्थित बसोबासी ७ हजार २२ गरी ७ हजार २६५ जनाले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन।
जग्गा नापजाँच सुरु भएको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले सबै वडामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि जग्गाको प्रवन्ध गर्न गाउँपालिकाले समन्वयको काम गरिरहेको वताउनुभयो । “आयोगले चासो दिएबमोजिम नै गाउँपालिकाले सहयोग गरिरहेको छ । हिलिहाङका सबैलाई चाँडै लालपूर्जा उपलब्ध गराउन हाम्रो भूमिका रहनेछ”, अधिकारीले भन्नुभयो।
अध्यवस्थित बसोबासीका रुपमा निवेदन दिनुभएका हिलिहाङ–७ सल्लेरीका गोपी तामाङले आफूहरुले ब्यवस्थित बसोबासी हुनका लागि निवेदन दिएको लामो समय भएपनि हालसम्म काम नभएको तर अहिले नापजाँचको काम सुरु हुँदा केही आशा पलाएको वताउनुभयो। “धनीपूर्जा (लालपूर्जा) नहुँदा धेरै काम गर्न गाह्रो रहेछ । हामीलाई चाँडो काम भइदिए हुन्थ्यो”, तामाङले भन्नुभयो ।
केन्द्रमा सरकार परिवर्तन हुँदा फेरिने आयोग पाँचथरमा हालसम्म सात वटा गठन भइसकेका छन। सातौं आयोग जिल्लाका हिलिहाङ र मिक्लाजुङ गाउँपालिकाका निवेदकको माग पूरा गर्न जग्गा नापचाँचको प्रक्रियामा पुगेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









