0 प्रतिक्रिया
बाटो आएपछि दाउरा र पानीबाहेक सबै खरीद गरेर खाँदै छौं
पाँचथर, ३१ असारः
तमोर कोरिडोर सडकको ट्रयाक खोल्ने क्रममा सिंचाइ योजना क्षतिग्रस्त भएपछि पाँचथरको कुम्मायक गाउँपालिका–४ को शिवादोभानको फाँटमा एक दशक अघिदेखि खेती लगाइएको छैन।
तमोर कोरिडोर सडक अन्यत्र कालोपत्रको काम भइरहँदा यहाँ वर्षेनि ट्रयाक खोल्ने र छोड्ने काम भइरहेको छ। सडकको ट्रयाक खोल्ने क्रममा माटो झारिँदा शिवादोभानलाई सिंचित गर्ने टारी कुलो सिंचाइ योजनामा क्षति पुग्ने गरेको छ। निर्माण कम्पनीले वर्षेनि सडकको ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । तर सडक निर्माणलाई पूर्णता दिन कालोपत्रे गर्ने कामको सुरुआत नै हुन सकेको छैन। मर्मतको प्रयास गरिएपछि १० वर्षदेखि उक्त सिंचाइ योजना अवरुद्ध हुँदा तीन बाली लाग्ने शिवादोभान बाँझिएको स्थानीयवासी पूर्णबहादुर सम्बाहाम्फेको भनाइ छ।
करीव डेढ किलोमिटर लामो कुलोले एक दर्जनभन्दा बढी परिवारले खेती लगाउने शिवादोभानलाई सिंचित गर्दथ्यो । दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने उक्त सिंचाइ कुलोमा क्षति पुगेपछि मर्मतका लागि विभिन्न सरकारी निकायले रु. १५ लाख तथा सडक निर्माण कम्पनीले रु. दुई लाख बजेट उपलब्ध गराएका थिए। उक्त बजेटले कुलो पक्की बनाइएको छ । तर वर्षेनि सडकको ट्रयाक खोल्ने वा सतह मिलाउने क्रममा माटो फाल्नाले सिंचाइ योजना पुरिने गरेको छ। अर्कातिर निर्माणाधीन सडकको नाली निर्माण भइनसकेका कारण पानीको सही निकास नहुँदा सिंचाइ योजनामा वर्षेनि क्षति पु¥याउने गरेको छ।
फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिंचाइको सुविधा हुँदा तीन वाली लाग्ने गरेको स्थानीयवासी ललितबहादुर सम्बाहाम्फेको भनाइ छ। “हिउँदे र वर्खे धान रोपिन्थ्यो । हिउँदमा गहुँ, आलु र सागशब्जी प्रशस्तै उत्पादन हुन्थ्यो”, सम्बाहाम्फेले भन्नुभयो, “सिंचाइ कुलो अवरुद्ध भएपछि मकै बाली लगाउन थालिएको । अहिले वर्षा नहुँदा मकै पनि सुक्यो।”
सिंचाइको अभावमा यहाँको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने स्थानीयवासीको आयआर्जनको माध्यम पनि बन्द भएको छ। “हामीले आजभोलि ऋण काढ्दै खाँदै छौँ । दाउरा र पानीबाहेक सबै खरीद गरेर खानुपर्ने अवस्था छ”, ललितबहादुरले भन्नुभयो, “हामीले बोलेको हावाले उडाइहाल्छ। अहिलेसम्म कसैले आएर यहाँ के समस्या भयो भनेर सोधेका छैनन।” सडक निर्माणका क्रममा सिंचाइ कुलोहरुमा क्षति पुग्दा शिवादोभानमा पर्ने फिदिम नगरपालिका–४ सरखण्डे, फिदिम–९ लुम्फाबुङ र कुम्मायक–४ रानीगाउँका खोला आसपासका खेतहरु बाँझिदै गएको स्थानीयवासीको भनाइ छ।
निर्माणाधीन तमोर कोरिडोर शिवादोभानको दक्षिणतर्फ कुम्मायक–४ वन्थाक र उत्तरतर्फ हिलिहा–७ माझीटारबाट अगाडि कतै कालोपत्र भइरहेको छ त कतै कालोपत्रको चरणमा पुगेको छ । तर माझीटारदेखि वन्थाकसम्मको सडकमा न नाली निर्माण भएको छ न त सतह निर्माणको काम नै सकिएको छ । जसको मार आफूहरुले भोग्नु परेको शिवादोभानका पूर्णबहादुर सम्बाहाम्फेको भनाइ छ।
निर्माण ब्यवसायीले समयमा काम नगर्दा स्थानीयवासी आक्रोशित छन । “अन्यत्र पिच (कालोपत्र भइसक्दा यहाँ चाहिँ ठेकेदार निदाएको छ । कम्पनी कहाँ छ ?, हामीलाई जानकारी छैन”, ललितबहादुरले भन्नुभयो, “१० वर्षदेखि हामी अभाव झेल्दै छौँ।” सडक निर्माणले पूर्णता नपाएकै कारण फिदिम नगरपालिकातर्फ रहेको ठूलो खेत सिंचाइ कुलो पनि पुनर्निर्माण हुन सकेको छैन। जसकारण शिवादोभानभन्दा मुनिको सयौं रोपनी खेत बाँझिएको छ।
कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे पनि निर्माण ब्यवसायीले समयमा काम सम्पन्न नगर्दा स्थानीयवासीको आयआर्जनको माध्यम बन्द भएको र स्थानीय तहको लगानी खेर गएको सुनाउनु हुन्छ। “सडक निर्माण चलिरहँदा माटो झर्ने भएकाले सिंचाइ कुलो नियमित विग्रिइरह्यो। सडकको पानीको सही निकास नहुदा कुलो भत्काउने गरेको छ”, वडाध्यक्ष सम्बाहाम्फेले भन्नुभयो, “कुलो मर्मत गर्न पटक–पटक लगानी ग¥यौं। तर हाम्रो लगानी खेर गयो।”
सिंचाइ कुलो मर्मतका लागि चालु आ.व. २०८१।०८२ वर्ष कुम्मायक गाउँपालिकाले रु. दुई लाख ५० हजार छुट्टयाएको थियो। उक्त रकम खर्च गर्न समयमा सम्झौता नभएपछि पाइप खरीद गर्ने योजना बनाइएको थियो। तर कुनै पनि निर्माण ब्यवसायी पाइप खरीद प्रक्रियामा सामेल नभएको वडाध्यक्ष सम्बाहाम्फेको भनाइ छ । सडक निर्माणको काम चाँडो सम्पन्न गर्न आफूहरुले दबाव दिइरहेको वडाध्यक्ष सम्बाहाम्फे वताउनु हुन्छ। “काम गर्दै छौं भन्नुहुन्छ, यता जनताले धेरै समस्या भोगिरहनु परेको छ”, उहाँले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









