0 प्रतिक्रिया
बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न
AI सारांश
Fast AI१. बारामा पछिल्लो एक महिनायता जीतपुरसिमरा क्षेत्रमा बलात्कार, अपहरणपछि हत्या र चक्कु प्रहार जस्ता गम्भीर आपराधिक घटनाहरूको सङ्ख्या बढ्दै गएको छ।
२. बारा प्रहरीले भदौ महिनामा मात्रै विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता गरेको तथ्याङ्कले जिल्लाको सुरक्षा व्यवस्थापनमा गम्भीर चुनौती देखाएको छ।
३. घटनाको प्रकृतिले प्रहरी र प्रशासनलाई अपराध हुनुअघि नै जोखिम पहिचान गरी दीर्घकालीन सुरक्षा रणनीति कार्यान्वयन गर्न बाध्य बनाएको छ।
सञ्जय मिश्रा
रौतहट, ६ असोज । बारामा पछिल्लो एक महिनायता हत्या, बलात्कार, अपहरणपछि हत्या, चक्कु प्रहार र शंकास्पद मृत्युका घटना एकपछि अर्को सार्वजनिक भएका छन्। छोटो अवधिमा भएका यी घटनाले जिल्लाको सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
विशेषगरी जीतपुरसिमरा क्षेत्र आपराधिक घटनाको केन्द्रजस्तो देखिन थालेको छ। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या, ११ वर्षीय राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या, पाँच वर्षीया बालिकामाथि बलात्कार तथा होटलमा शेरबहादुर खड्काको चक्कु प्रहारबाट भएको मृत्यु पछिल्ला गम्भीर घटना हुन्।
जीतपुरसिमरा–१ की गरिमा साउन ३१ गते बेपत्ता भएकी थिइन्। भदौ २ गते शव भेटिएपछि घटनाको विरोधमा आन्दोलन भयो। अनुसन्धानपछि मुख्य अभियुक्त भनिएका प्रोग्रेश उर्फ पुरग्रेश चौधरीसँग जिल्ला अदालत बाराले २० हजार रुपैयाँ धरौटी माग गरेको छ भने दुई नाबालकलाई बाल सुधार गृह पठाइएको छ।
त्यसैगरी विश्रामपुर–३ का ११ वर्षीय राजेशकुमार साह भदौ ९ गते बेपत्ता भएको दुई दिनपछि भारतको मोतिहारीस्थित सिंहा नदी किनारमा मृत फेला परे। घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्।
जीतपुरसिमरा–२ स्थित होटलमा ३५ वर्षीय खड्काको चक्कु प्रहारबाट मृत्यु भएको छ। त्यस्तै जीतपुरसिमरा–१६ र २२ मा दुई व्यक्तिको शंकास्पद अवस्थामा शव भेटिएका छन्।
तथ्यांकले पनि सुरक्षा चुनौती देखाउँछ। बारा प्रहरीले भदौमा मात्रै विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ। त्यसमध्ये सामाजिक अपराध ३२, आत्महत्यासम्बन्धी २८ तथा महिला तथा बालबालिकासम्बन्धी १९ मुद्दा छन्।
घटनाको संख्या र प्रकृतिले अपराध भएपछि पक्राउ गर्नेभन्दा अपराध हुनुअघि जोखिम पहिचान, नियमित गस्ती, सूचना संयन्त्र, सीसीटीभी निगरानी र समुदायसँगको समन्वय बलियो बनाउनुपर्ने देखाएको छ।
औद्योगिक तथा व्यापारिक गतिविधिको प्रमुख केन्द्र जीतपुरसिमरामा सुरक्षा चुनौती बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर व्यवसायी, मजदुर र सर्वसाधारणमा पर्न सक्छ। त्यसैले प्रहरी–प्रशासनले घटनापछि अनुसन्धानमा सीमित नभई दीर्घकालीन सुरक्षा रणनीति कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






